रक्षा बन्धनको सामाजिक महत्व


बेनी बुधबार साउन २९ गते । यस वर्ष रक्षाबन्धन श्रावण ३० गतेका दिन परेको छ । श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्विहरुले रक्षा बन्धन अथवा जनै पूर्णिमा धुमधामसँग मनाउने गर्दछन् । मलमास र पुरुषोत्तम मास परेको वर्ष भने यो पर्व भाद्य्र शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यस ऋषिहरुका नाममा तर्पण दिइने हुँदा यस पर्वलाई ऋषितर्पणी पनि भनिन्छ । रक्षा बन्धन, जनै पूर्णिमा, व्याँचा नकेगु पुन्हीँ पनि यस पर्वलाई चिनिन्छ । त्यसैगरि यो पर्वलाई विषतोडक पर्व समेत भनिन्छ ।

यसैदिनमा गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेको दिनका कारण पनि बौद्धमार्गीहरुका लागि पनि यस दिनको विशेष महत्व रहेको छ । वर्तमान समाजमा यस्ता संस्कार एवं परम्परालाई ‘आडम्बर’को आँखाले हेर्ने गर्छ । स्वभाविक पनि हो, हरेक कुरामाथि हामीले प्रश्न राख्नुपर्छ । रक्षाबन्धन किन मनाउने ? जनै फेर्दा के हुन्छ ? डोरा किन बाँध्ने ? यस्ता प्रश्नहरुको तार्किक जवाफ खोज्न आवस्यक पनि छ । हामी विरोध मात्र गर्छौँ तर हाम्रा संस्कृतिको महत्व र आवश्यकताबारे घोत्लिदैनौं ।

यस्तो छ धार्मिक कथा
सत्य युगमा देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ बर्षसम्म भयानक युद्ध चर्किएको थियो । उक्त युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न थाले । इन्द्रले दैत्यराजसँग पुनः अन्तिम युद्ध गर्ने संकल्प गरे ।

त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो । देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको कामना गरि श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । गुरु वृहस्पतिले रक्षा विधान तयार गरि जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग रक्षाबन्धनको सम्बन्ध छ ।


जनै पूर्णिमाको दिन व्रतबन्ध संस्कार गरेका हिन्दू धर्मावलम्वीहरुले दाह्रीकपाल, नङ् काटेर स्नान गरि शुद्ध वस्त्र पहिरिएर ब्राह्मणहरुबाट विधिपूर्वक मन्त्र एवम् स्तोत्र पाठ गर्दै पुरानो जनै निकाली नयाँ जनै लगाउने गर्दछन् । रक्षाबन्धन चाहिँ सवैले बाँध्न गर्दछन् । जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोगहरु निको हुने, सुख शान्ति मिल्ने विश्वास रहेको छ । रातो, पहेंलो रंगको डोरा बाँध्ने चलन रहेको छ । यस पर्वमा बाँधिएको डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ ।

यसको महत्वः
आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ ।

गलत खानपान, रहन सहनले हामी आफैंलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो । रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ ।

यो आत्मअनुशासनको एउटा विधि पनि हो । त्यसैगरि सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । यस पर्वलाई मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ ।

सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो । सूत्र कुनैपनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ, पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ । पछिल्लो समय भारतीय परम्पराको नक्कल गर्दै नेपालको तराई तथा पहाडी भेगहरुमा दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई राखी बाँधेर आशीर्वाद लिनेदिने परम्परा बढ्दो पनि छ । यसै दिन नौ थरी गेडागुडीका परिकारहरु (क्वाटी) बनाएर खाने चलन पनि रहेको छ ।

ज्यो. श्रीकृष्ण भुषाल
ज्योतिष अनुसन्धान केन्द्र
क्याम्पसचोक बेनी म्याग्दी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार