रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

म्याग्दी । म्याग्दीकाे  रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी कारोबार बन्द भएलगत्तै आर्थिक बर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार कुल बजेट ४८ करोड ९४ लाख ५७ हजार २०५ रूपैयाँ बजेट बिनियोजन भएकोमा ३८ करोड ५७ लाख ६० हजार ८८ रूपैयाँ खर्च भएको छ । विभिन्न शिर्षकमा  ४८ करोड ९४ लाख ५७ हजार २०५ रूपैयाँ आम्दानी हुने प्रस्ताव गरिएकोमा ४५ करोड ३१ लाख ७२ हजार ९६४.८० रूपैयाँ आम्दानी भएको लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो ।

पुँजिगत शिर्षकमा १७ करोड २७ लाख ७५ हजार ७०० रूपैयाँ बिनियोजन भएकोमा ६७.२ प्रतिशत अथवा  ११ करोड ६१ लाख २३ हजार ९४९.६१  रूपैयाँखर्च भएको छ ।  पाँच करोड ६६ लाख ५१ हजार ५७० रूपैयाँ खर्च हुन सकेन् । खर्च नभएको बजेट राज्यकोषमा फिर्ता हुने लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो ।

सवैभन्दा बढी पुजिगत तर्फ गैरआवासीय भवन निर्माण तथा खरिद शिर्षकमा  चार करोड ९६ लाख ३५ हजार रूपैयाँ बिनियोजन भएकोमा  दुई करोड ७० लाख १३ हजार ३०३ रूपैयाँ खर्च भएको छ । सडक तथा पुल निर्माण शिर्षकमा तीन करोड ५४ लाख ३५ हजार रूपैयाँ बिनियोजन भएकोमा दुई करोड ९६ लाख ७३ हजार २७४ रूपैयाँ खर्च भएको छ । अन्य सार्वजनिक निर्माण शिर्षकमा तीन करोड ८५ लाख ४६ हजार रूपैयाँ बिनियोजन भएकोमा दुई करोड २३ लाख ९३ हजार ५८० रूपैयाँ खर्च भएको छ ।

गाउँपालिकाले १६५ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन गरेकोमा एक वटा बाहेक सबै कार्यान्वयन भएका छन् । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग गर्न जनप्रतिनिधी, कर्मचारी, प्राबिधिक, उपभोक्ता समितिका पदाधीकारी, निर्माण व्यवसायी, सामाजिक अगुवा लगायत सवैलाई धन्यवाद दिनुभयो ।

यस वर्ष वडा नम्बर ८ को कुईनेमा सडक पुग्नु, गाउँपालिकाको सभाहल सहितको आफ्नै प्रशासकीय भवन निर्माण हुनु, वडा नम्बर २ र चिमखोला स्वास्थ्य चौकी, कोल्ड स्टोरको भवन निर्माण शुरु, झिँ–टोड्के पैदलमार्ग निर्माण लगायतका उपलब्ध हाँसिल भएका अध्यक्ष भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार