काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

  म्याग्दी न्युज संवाददाता

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा आठ सय ६८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार पाँच सय सात नमुना परीक्षण गर्दा पिसिआरबाट चार सय ९६ र एन्टिजेनबाट तीन सय ७२ जनामा कोरोना पुष्टि भएको हो । चार सय १४ जना संक्रमणमुक्त भएका छन् ।

मृत्यु हुनेको संख्या तीन छ । काठमाडौं उपत्यकामा कोभिड संक्रमण अत्यधिक बढ्न थालेको छ । हाल सक्रिय रहेका पाँच हजार आठ सय ८५ संक्रमितमध्ये तीन हजार नौ सय ५६ जना संक्रमित उपत्यकामा मात्रै छन् । जुन कुल संक्रमितको ६७.२२ प्रतिशत हो । जसमध्ये काठमाडौंमा मात्रै तीन हजार नौजना सक्रिय संक्रमित छन् । काठमाडौंमा सक्रिय संक्रमित मात्रै नभई दैनिक संक्रमितको संख्यासमेत अत्यधिक छ । बुधबार मात्रै काठमाडौंमा दुई सय २९ जनामा संक्रमण देखिएको छ ।

संक्रमणसँगै अस्पताल भर्ना दर ३.६४ प्रतिशत पुगेको छ । हाल देशभर दुई सय १४ जना उपचाररत छन् । जसमध्ये ६४ जना आइसियू र सातजना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । कोभिड संक्रमण दिनानुदिन बढ्दै गए पनि हालसम्म दुई सयभन्दा बढी सक्रिय संक्रमित तीनवटा जिल्लामा मात्र रहेको मन्त्रालयको विवरणले देखाउँछ । हाल काठमाडौं, ललितपुर र मोरङमा मात्र दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार