न्यूयोर्क ,विहिबार पुस ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएको छ। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (तल्लो सदन) मा ट्रम्पलाई महाभियोग लगाउने विषयमा मतदान भएको हो। नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रपको विपक्षमा २३० र पक्षमा १९७ मत आएको छ। तल्लो सदनमा डेमोक्र्याटको बहुमत रहेको छ।
ट्रम्पले यूक्रेनसँगको सम्झौतामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनलाई प्रभाव पार्ने गरी आफ्ना प्रतिद्वन्दीका विषयमा अनुसन्धान गर्न दवाब दिएर शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। महाभियोगलाई रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा पठाइनेछ। जहाँ सांसदहरूले निर्णायक मण्डलका सदस्यको हैसियतले सो अभियोगमाथि सुनुवाइ गर्नेछन्।
ट्रम्पले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीनजना राष्ट्रपतिले महाभियोग प्रक्रिया सामना गरेका थिए।
महाभियोगलाई रोक्न राष्ट्रपति ट्रम्पले अमेरिकी उच्च तहका अदालतसँग आग्रह गरेका छन्। ट्रम्पले डेमोक्र्याटमाथि ‘अवैध र राजनीतिक रूपमा कु प्रयास गरेको’ र अमेरिकी लोकतन्त्रमाथि युद्ध छेडेको आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग लगाएर पदमुक्त गर्नुपर्ने माग राख्दै न्यूयोर्कमा जुलुस निकालिएको छ।
मतदान हुनुपूर्व प्रदर्शनकारीले ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने र पदबाट हटाउनुपर्ने भन्दै जुलुस निकालेका थिए। जुलुसमा हजारौं मानिस सहभागी भएको सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकाका अन्य शहरमासमेत महाभियोगको पक्षमा जुलुस निकालिएको आयोजकले बताएका छन्। ‘सबै नागरिक सडकमा आएर जुलुसमा सहभागी हुनुपर्ने बेला आएको छ’, जुलुसका आयोजक श्यानन स्ट्यागम्यानले भने, ‘अपराध भएको छ र राष्ट्रपतिले शक्तिको दुरुपयोग गरेका छन्।’ यो कुरालाई यत्तिकै छोड्न नहुने उनको भनाइ छ।
टाइम्स स्क्वायरमा भेला भएका प्रदर्शनकारीले ‘ट्रम्पलाई महाभियोग लगाऊ’ जस्ता नारा लगाएका थिए। त्यस्तै उनीहरूले ‘ट्रम्प कानुनभन्दा माथि छैनन्’ लेखिएका प्लेकार्ड बोकेका थिए।
अमेरिकामा महाभियोग
राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीनजना राष्ट्रपतिले महाभियोग प्रक्रिया सामना गरेका थिए। यद्यपि कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन। रिचर्ड निक्सनले भने महाभियोगको चर्चापछि राजीनामा दिएका थिए।
महाभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो। डेमोक्र्याटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रु जोन्सन एक मतले महाभियोगबाट बचेका थिए। उनले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद् ९कंग्रेस० मा द्वन्द्वको सामना गर्नुपरेको थियो। कंग्रेसले दक्षिणी राज्यका प्रतिनिधिद्वारा मतदान गरी निर्माण गरेका जातीवादी कानुन ‘ब्लाक कोड’सहित जोनन्नको पहलमा निर्माण भएका सबै कानुनमाथि ‘भिटो’ शक्ति लगाएको थियो।
उक्त राजनीतिक संकटमा जोन्सनले आफ्ना युद्धमन्त्रीलाई नै बर्खास्त गरेका थिए, जसका कारण उनीमाथि महाभियोगका लागि संसद्मा प्रस्ताव गरिएको थियो। यो नै अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाभियोग प्रस्ताव थियो।
सन् १८६८ को फेब्रुअरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसद्को तल्लो सदन)ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो। यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो। एक महिनाको सुनुवाइपछि सिनेटले मे महिनामा गरेको महाभियोगप्रस्ताव पारितका लागि मतदानमा दुई तिहाइ पुग्न एक मत नपुगेपछि जोन्सनको राष्ट्रपति पद जोगिएको थियो।
उनी दोस्रो कार्यकालका लागि पार्टीका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्न विफल भएका थिए। त्यसैगरी रिपब्लिकन राष्ट्रपति निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनःनिर्वाचित हुनका लागि वासिङटनस्थित वाटरगेट भवनमा भएको चोरी काण्डमा उनको दलले नै चोर पठाएको खोजी पत्रकारिताको समाचार आएको थियो। त्यस भवनमा डेमोक्र्याटिक पार्टीको मुख्यालय थियो। उनले उक्त घटनालाई अनुसन्धान गर्न रोक लगाएपछि अमेरिकी अदालतले उनको कार्यालयमा भएको वार्तालापको गोप्य रेकर्डमा चोरीका लागि उनी र उनका वरिष्ठ सल्लाहकार संलग्नता भएको प्रमाण अदालतले चोरसँग लिएको वयानमा उपलब्ध भएपछि उनीमाथि महाभियोग लगाउने पक्का भएको थियो। तर प्रस्तावको पक्षमा आवश्यक मत पुग्नसक्ने अवस्थामा अन्तिममा आएर उनले अगस्ट ९ मा राजीनामा दिएका थिए।
सन् १९९९ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेरकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेकोबारे झूटो वयान दिएको आरोप लागेको थियो। तर क्लिन्टनको दलले उनीविरुद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरुद्धको आरोपको पुष्टि हुन सकेको थिएन। क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट बिदा भएका थिए। annapurnapost