दमौली । तनहुँको व्यास नगरपालिकाले एउटा वडा विभाजन र केही वडाको सिमाना हेरफेर गर्ने निर्णय गर्ने गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४औँ नगरसभाले एउटा वडालाई विभाजन गर्दै केही वडाको भागलाई अन्य वडामा समावेश गर्ने निर्णय गरेको हो ।
व्यास नगरपालिका–६ लाई दुई वडा बनाउने प्रस्ताव नगरसभाले सर्वसम्मत पास गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनकाअनुसार साविक स्याम्घाको वडा नम्बर १, २, ३ र ४ लाई एउटा वडा बनाउने र त्यसको केन्द्र सिसाघाटमा र वडा नम्बर ५, ६, ७, ८ र ९ लाई अर्को वडा बनाएर त्यसको केन्द्र स्याम्घा हटिया निर्धारणका लागि प्रदेश सरकार हुँदै संघीय सरकारसमक्ष पठाउने निर्णय भएको छ ।
व्यास नगरपालिका–८ को कोटथोक गाउँलाई वडा नम्बर ७ मा र व्यास नगरपालिका–९ को छापलाई व्यास नगरपालिका–११ मा गाभ्ने निर्णय नगरसभाले गरेको छ । त्यस्तै व्यास नगरपालिका–११ को पातलगाउँलाई व्यास नगरपालिका–९ मा गाभ्ने निर्णय भएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले उपप्रमुख मीरा जोशीको संयोजकत्वमा वडा सिमाना हेरफेरका लागि समिति गठन गरेको थियो । समितिको प्रतिवेदन साथै सर्वदलीय बैठकको निर्णयबमोजिम नगरपालिकाको आन्तरिक सिमाना हेरफेर तथा वडा विस्तारको निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँपालिका वा नगरपालिकाको सङ्ख्या वा सिमाना हेरफेर गर्नुपरेमा त्यस्तो हेरफेरबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमा पठाउनुपर्ने उल्लेख छ । ऐनमा गाउँपालिका वा नगरपालिकाको सङ्ख्या र सिमाना हेरफेर गर्नुपर्ने भएमा गाउँपालिका वा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तीमा एक वर्षअगावै गरिसक्नुपर्ने उल्लेख छ ।
नगरसभाले छिमेकी पालिकाका वडाका केही भागलाई व्यास नगरपालिकामा समावेश गर्न सम्बन्धित स्थानीय तहमा प्रस्ताव पठाउने निर्णयसमेत गरेको छ । यसअनुसार भानु नगरपालिका–१३ को टुटेपानीलाई व्यास नगरपालिका–८ मा समावेश गर्ने प्रस्ताव नगरसभाले गरेको छ । बन्दीपुर गाउँपालिका–३ को तानुङभन्दा परको दुई गाउँलाई व्यास नगरपालिका–१४ मा र भानु नगरपालिका–६ मूलपानीका दुई टोललाई व्यास नगरपालिका–१२ मा समावेश गर्ने प्रस्ताव गरिएको छ ।
नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संशोधित बजेट तथा कार्यक्रम रु एक अर्ब ५७ करोड २७ लाख १२ हजारलाई यथावत राखी संशोधित आयमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने रु दुई करोड २८ लाख १९ हजार थप गरी आन्तरिक आयमा सोही बराबर घटाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार नगरसभाबाट चालु आवको संशोधित आर्थिक विधेयक २०७७ र संशोधित विनियोजन विधेयक २०७७ पारित भएको छ । नगरसभामा पेश भएका विभिन्न प्रस्ताव एवं अन्य समसामयिक विषयमा विभिन्न वडाबाट २७ जनाले छलफलमा भाग लिएका थिए । लेखासमितिबाट पेश हुन आएको आव २०७५/७६ सम्मको बेरुजु तथा पेश्कीसम्बन्धी रु १० करोड ५० लाख ४७ हजार ७ सय ६० को सम्परीक्षण गर्नुपर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ ।
घरबहाल कर लगाउने प्रयोजनका लागि आवश्यक तथ्याङ्क सङ्कलन एवं दर निर्धारण गर्ने उद्देश्यका साथ आवश्यक प्रक्रिया अगाडि बढाउन वडाध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा घरबहाल कर व्यवस्थापन समिति गठन गरिएको छ । स्थानीयस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अद्यावधिक गर्ने कार्यका लागि नगर कार्यपालिकाका अधिकार प्रत्यायोजन गर्ने निर्णय नगरसभाले गरेको छ । रासस