काठमाडौं । धनुषामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान कमला नगरपालिका-२ मा करिब ३०/३५ वर्षीया संजितादेवी रावत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए।
साढे ७ बजे स्थानीयले रावतलाई उनको घरभन्दा तीन सय मिटर पश्चिममा रहेको बिशो यादवको खेतमा मृत अवस्थामा फेला पारेको उनले बताए। ‘स्थानीयले देखेपछि हामीलाई खबर गरेका थिए,’ उनले भने, ‘खबर भएपछि हाम्रो टोली खटिएको थियो। घटना शंकास्पद देखिन्छ।’
उनका अनुसार मृतक संजितादेवीको घाँटीमा निलडाम देखिएको छ। जसकारण उनको हत्या शंकास्पद भएको प्रहरी निरीक्षक रोकायाले बताए। ‘उनको हिजो नै मृत्यु भएको पनि हुन सक्छ। अरू पोष्टमर्टम रिपोर्टपछि थाहा हुन्छ,’ रोकायाले भने।
घटनापछि उनका श्रीमान् सुखी गडेरी रावत सम्पर्कविहीन छन्। उनी घटना सार्वजनिक भएदेखि नै बेपत्ता छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। प्रहरी निरीक्षक रोकायका अनुसार सुखी रावतका दुई श्रीमती छन्।
मृतक संजितादेवी उनकी जेठी श्रीमती हुन्। प्रहरीले उनको कान्छी श्रीमती सुनिला रावतलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ। कान्छी श्रीमतीलाई हामीले सोधपुछ गर्न ल्याएका छौं, ‘उनले भने,’ उनीहरू पहिले छुट्टै बस्दै थिए। एक महिनादेखि तीनै जना एउटै घरमा सँगै बस्दै थिए।’
मृतकका संजितादेवीकी दुई छोरी र दुई छोरा छन्। कान्छी श्रीमती सुनिलाकी ६ महिना छोरी छन्। प्रहरीले शव पोष्टमार्टम गर्न प्रदेश नम्बर दुईको प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट