काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।
‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुर्ननिर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरवार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।
‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’
काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताए ।
‘दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफलपछि हामी यो चरणमा आएका हौँँ,’ काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो । कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । त्यसैले खुलामञ्च खुला गर्ने काम थालेका हौँ । केही दिनभित्रै सबै खुला हुन्छ ।’ नागरिक खबरबाट