गुल्मी । माघ २९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो । ‘बिहान रुखबाट घाँस झार्न लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन गरे । उनीहरुले प्रहरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने ।
घरनजिकै सय मिटर अगाडि झाडीमा टाउको बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा शव फेला परेको छ । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको हुनसक्ने प्रहरीको अनुमान छ । बुहारी बेपत्ता भएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
अघिल्लो दिन उनले ३ जना केटा बुहारीको कोठामा बसेको र त्यसलगत्तै बुहारी भागेको बयान प्रहरीमा दिएकी थिइन् । सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् । ३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो थिएन । सम्झनाले श्रीमानले प्रायः कुटपिट गरिरहने बताउने गरेकी थिइन् ।
२९ गते साँझ ५ बजेतिर उनी सासुले घर छाडेर जा भनेको भन्दै बहिनीसँग फोनमा रोएकी थिइन् । उनका १६ महिनाका छोरा छन् । सम्झना बेपत्ता भएको निकै दिन हुँदा पनि नभेटिएपछि स्थानीयवासीले प्रहरीलाई दबाब दिन आन्दोलन चर्काएका थिए । त्यहीबेला जिल्ला प्रहरी प्रमुख एसपी प्रबिणलाल श्रेष्ठको सरुवा भएको छ । रातोपाटीबाट