
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका वडा अध्यक्ष पुन र सचिव आले मगरले बुधबार प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यो पनि…
नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिब आले र सिफारिस गर्नुभएका वडा अध्यक्ष पुन बिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार आफै प्रहरी कार्यालयमा आएका पुन र आलेलाई बिहिबार म्याग्दी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।
उहाँका अनुसार दुवै जना प्रहरी हिरासतमा हुनुहुन्छ । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई २०७७ फागुन ९ गते प्रहरीले पक्राउ गरेको थियो ।
दिपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीलाई आफ्नो छोरी भएको दावी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेश गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो । रेशमले दिवाको नावालक परिचयपत्र बनाउन फागुन ८ गते प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीमा पठाएको थियो ।
भण्डारी बिरुद्ध झुटा बिबरण पेश गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा छानबिन गर्ने क्रममा वडा अध्यक्ष र सचिब पनि अनुसन्धानमा पर्नुभएको हो । रेशमबहादुरले दिवालाई बिदेश (जापान)पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । १६ वर्ष भन्दा कम उमेरका व्यक्ति बिदेश जानका लागि नावालक परिचयपत्र बनाउनुपर्छ ।