दाङ । कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने भारतीय नागरिक दाङमा पक्राउ परेका छन्।भारतको जिल्ला सराबस्ती थाना भरन्गा निवासी २३ वर्षीय शंशाद राजालाई प्रहरीले लमही दाङबाट सोमबार बिहान साढे १ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार राजाले डुलाएर कपडाको व्यापार गर्ने बहानामा प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने गरेको सूराकीको आधारमा खानतलासी गर्दै उनको साथबाट ब्राउन सुगर बरामद भएको थियो।
सूराकीको आधारमा लमहीको कप्तानगंजबाट प्रहरी टोलीले सोमबार बिहान साढे १ बजे ४ ग्राम ३ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो,’ डिएसपी रिजालले भने,‘कपडाको व्यापार गर्ने भेषमा राजाले लागुऔषधको कारोबार गरेको गोप्य सूचनाको आधारमा प्रहरीले निगरानीमा राख्दै आएको थियो।’
भारतीय नागरिक राजा पछिल्लो समय लमही नगरपालिका वडा नं. ७ कप्तानगंजमा डेरा गरी बस्दै आएको र उनले आसपासमा कपडाहरू डुलाएर बेच्ने गरेको प्रहरीले बताएको छ।
साथै, प्रहरीले पक्राउ परेका राजाको साथबाट २ लाख ४५ हजार नगद र भन्सार छलेर ल्याएका कुर्ता ३१ थान, तन्ना १० थान र धोती ३ थानसहित ४२ थान कपडा बरामद भएको जनाएको छ । पक्राउ परेका व्यक्ति उपर लागुऔषधसम्बन्धी मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिए । सेतोपाटीबाट