चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा र पाटेबाघ मृत भेटिएका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गतको कोर इलाका नारायणी नदी कलकत्ता टापु सेहरीमा अन्दाजी ३० वर्षको गैंडा मृत भेटिएको हो।
भाले गैंडाहरू आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। मृत एक सिंगे गैंडाको खाग, खुर सुरक्षित भेटिएको उनले बताए।
निकुञ्जभित्र यस आर्थिक वर्षमा मात्रै २६ वटा गैंडाको मृत्यु भएको छ। तीमध्ये २२ वटा प्राकृतिक र ४ सिकारीको कारण मृत्यु भएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको संख्या ६०५ थियो। अब चैत ९ गतेबाट पुनः गैंडाको गणना सुरू हुँदैछ। साथै, निकुञ्जको सौराहा सेक्टरमा पाटेबाघ मृत अवस्थामा भेटिएको अधिकारीले जानकारी दिए।
चपरचुली खहरे खोला क्षेत्रमा अन्दाजी ४ वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटेबाघ मृत फेला परेको हो। सो बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ। सेतोपाटीबाट


























