एमाले र माओवादी ब्युँतिएपछि गण्डकीमा धमाधम पार्टीका बोर्ड फेरिँदै

पोखरा । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा धमाधम पार्टी कार्यालयहरु ब्यूँताउन थालिएको छ । आइतबार सर्वोच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँंगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम र चिन्ह सहितको बोर्ड राख्न थालिएको छ ।

अहिलेसम्म गण्डकी प्रदेशका ११ जिल्लामध्ये आधा दर्जन भन्दा बढी जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएका बोर्ड हटाएर एमाले र माओवादी केन्द्र लेखिएका बोर्डहरु राखिएका छन् । सर्वोच्च अदालतको निर्णयपछि औपचारिकरुपमा अलग अलग भएका एमाले र माओवादी केन्द्रले पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनपछि मंगलबार प्रदेशका विभिन्न जिल्लाहरुमा पार्टीको बोर्ड फेरेका हुन् ।

यसैक्रममा नेकपा एमालेले कास्कीले पनि पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखेको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ शान्ति वनमा रहेको नेकपाको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, प्रदेशसभा सदस्य राजिव पहारी लगायत एमाले नेता कार्यकर्ताले बोर्ड राखेका थिए ।

एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) राखिएको थियो । पार्टी एकता अघि नेकपा एमालेले प्रयोग गर्दै आएका कार्यालयलाई पार्टीको कार्यालय बनाइएको थियो । पोखराकै शिवालय चोकमा रहेको माओवादी केन्द्रको कार्यालयलाई पोखरा महानगर कमिटीको कार्यालय बनाइएको थियो ।

त्यसैगरी पर्वतमा पनि नेकपा पर्वतको कार्यालय रहेको ठाउँमा एमालेको बोर्ड राखिएको छ । कार्यालयमा साविकका एमाले नेता र कार्यकर्ताको उपस्थितिमा बोर्ड परिवर्तन गरिएको छ । नेकपा विभाजन भएपछि लामो समयदेखि बन्द रहेको कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

सर्वोच्चको फैसलापछि नेकपाको एकता भंग भएर एमाले पार्टी ब्युतिएपछि पूर्ववत् अवस्थामा गतिविधिहरू सञ्चालन गर्नका लागि कार्यालयको बोर्ड परिवर्तनसँगै कार्यलय सञ्चालनमा ल्याइएको युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताए । सो कार्यालय पार्टी एकताअघि पनि एमालेले प्रयोग गर्दै आएको थियो ।

त्यसैगरी तनहुँमा पनि एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै ठाउँमा आ–आफ्ना पार्टीका कार्यलयमा वोर्ड राखेका छन् । माओवादीले व्यास नगरपालिका– ४ स्थित पहिलेकै कार्यालयमा बोर्ड राखेका छन् । एमाले पक्षले पनि कार्यालयमा बोर्ड राखेको छ । एकीकरणपछि तत्कालीन एमालेकै कार्यालयमा नेकपाको जिल्ला कार्यालय राखिएको थियो । अहिले केन्द्रको निर्देशन पछि पार्टीको नाम र चुनाव चिन्ह सहित बोर्ड फेरिएको तनहुँका एमाले नेता श्रीप्रसाद श्रेष्ठले बताए ।

त्यसैगरी गोरखामा पनि एमाले र माओवादीले छुट्टाछुट्टै ठाउँमा बोर्ड राखेका छन । पार्टीका अरु संगठन राखिएको ठाउँमा आफूहरुले बोर्ड राखेर कार्यालय स्थापना गरेको एमाले गोरखाले जनाएको छ । गोरखामा एकीकरण अघि एमालेको कार्यालय गोरखा नगरपालिका ८ चाइनिज धारामा थियो । एकीकरणपछि त्यहाँ नगर कमिटी, अखिल नेपाल किसान महासंघ र मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यालय राखिएको थियो ।

एकीकरण पछि माओवादीले प्रयोग गर्दै आएको गोरखा नगरपालिका ६ पाटे चौरबाट कार्य सञ्चालन हुँदै आएको थियो । एकीकरणअघि कार्यालय भएकै ठाउँमा एमाले फर्किएपछि माओवादीले पाटेचौरस्थित रहेको आफ्नै भवनमा कार्यालय खोलेको छ ।

मंगलबार गण्डकी प्रदेशका सात जिल्ला एमालेले कार्यालयमा आफ्नो नामको बोर्ड राखेको छ । कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, म्याग्दी, गोरखा, पर्वतमा बोर्ड राखेर कार्यालय खोलिएको एमाले गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए । प्रदेशका मनाङ, मुस्ताङ, लमजुङ र नवलपुरमा मात्र एमालेको बोर्ड राख्न बाँकी रहेको उनले बताए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार