बागलुङ ।बागलुङको गलकोट मल्ममा परम्परागत होली मेलाको तिव्र पारिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले संस्थाको ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवाला सँग विशेष अन्तरकृया सम्पन्न गरेको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।
परम्परागत होली मेलालाई भव्य अनि सभ्य बनाउन कार्य विभाजन गरिएको छ । आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमाको अवसरमा आयोजित मेला सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष थापाले बताए । मेलाको लागि पिताम्बर गौतमको संयोजकत्वमा ९ सदस्यीय कृषि मेला व्यवस्थापन समिति, जीवन साहानीको संयोजकत्वमा ५ सदस्यीय खेलकुद समिति, राजकुमार दर्जीको संयोजकत्वमा ३ सदस्यीय सामूहिक नृत्य व्यवस्थापन, ज्ञान बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय झाँकी तथा नौमती बाजा व्यवस्थापन समिति, लोक बहादुर थापाको संयोजकत्वमा अतिथि सत्कार, रुद्र केसीको नेतृत्वमा १५ सदस्यीय सुरक्षा प्रबन्ध समिति, मिन थापाको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति चयन गरिएको सह सचिव प्रकाश थापाले जानकारी दिए ।
त्यस्तै रामचन्द्र गौतम संयोजक रहेको ७ सदस्यीय पुरस्कार व्यवस्थापन, भारत केसी संयोजक रहेको ५ सदस्यीय साउण्ड सिस्टम व्यवस्थापन, राम बहादुर थापा संयोजक रहेको मञ्च व्यवस्थापन, बाबुराम थापा संयोजक रहेको ३ सदस्यीय मञ्च अनुगमन समिति, अनिता कार्की संयोजक रहेको ३ सदस्यीय प्राथमिक उपचार समिति र थम्मन थापा संयोजक रहेको ५ सदस्यीय सचिवालय समिति गठन गरिएको सह सचिव थापाले बताए । यस वर्ष होली पूर्णिमा मेलामा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार व्यवस्थापन खर्च सहित क्रमश नगद प्रथम रु ६० हजार, द्वितीय रु ३५ हजार र सान्त्वना १५ हजार+ १५ हजार २ राखिएको छ ।
सामूहिक नृत्य प्रतियोगिता तर्फ व्यवस्थापन खर्च सहित क्रमश नगद प्रथम रु १६ हजार, द्वितीय रु ११ हजार र तृतीय रु ८ हजार रहेको छ । मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । मेलाको अवसरमा जेष्ठ नागरिक सम्मान, भूतपूर्व खेलाडी सम्मान, सक्रिय समाजसेवी सम्मान, जेहेन्दार विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिने संस्थाले जनाएको छ । जिल्लाको पर्यटकीय तथा धार्मिक गन्तव्य घुम्टेको काख मल्ममा सञ्चालन हुने परम्परागत होली पूर्णिमा मेला विगत लामो समयदेखि हुँदै आएको छ ।
घुम्टे युवा परिवार “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मुल नाराका साथ वि.सं २०४१ सालमा स्थापना भएको हो । संस्थाले स्थानीय स्तरमा सामाजिक क्रियाकलाप, तालिम, गोष्ठी, बेसाहारा परिवारलाई सहयोग, सार्वजनिक स्थलमा सिसी क्यामरा जडान लगायतका कामहरु सम्पन्न गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार समितिका संयोजक सुवेदार टिका बहादुर थापाले बताए ।