पिउने पानीमा ठगी गर्ने पसलमा शिलबन्दी

हेटौंडा । पिउने पानीमा ठगी गर्ने हेटौंडाको एक पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले जारको पिउने पानी तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक क्षेत्रमा रहेको एक खाजा पसल सिलबन्दी गरेको हो ।

उक्त पसलले प्रत्येक पिउने पानीको जारलाई तोकेको मूल्य भन्दा बढी एक सय रुपैयाँमा बिक्रीवितरण गरेको भन्दै उपभोक्ताले खरिद गरेको पानीको जारको बिलसहित जिल्ला प्रशासनमा गुनासो गरेपछि प्रशासन कार्यालयको टोली अनुगमनका लागि पुगेको थियो ।अनुगमनका क्रममा उक्त अनुगमन टोलीले पसल सिलबन्दी गरी कारबाहीको प्रकृया अगाडि बढाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

सो अनुगमन टोलीले हेटौँडा बजार क्षेत्रसहित नवलपुरको खाद्यान्न पसल, होटल गरी १८ वटा पसलको अनुगमन गरिएको जनाएको छ । केही किराना पसलमा उपभोग मिति समाप्त भएको पेय पदार्थ र अखाद्य वस्तु मिसाइएको रंगहरु मिठाइहरू जफत गरिएको र ती पसलहरूलाई जिल्ला प्रशासन कार्यालयमा सोधपुछको लागि बोलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी बताए ।

सो अनुगमन टोलीमा प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यलय, घरेलु कार्यालय, हेटौँडा उपमहानगरपालिका प्राविधिक र उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार