
सिरहा । सिरहा प्रहरीले हत्या आरोपमा दुई युवकलाई सार्वजनिक गरेको छ । सिरहाकै मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या अभियोगमा पक्राउ गरेका उनकै ठूलो वुवाको छोरा २७ वर्षिय विष्णु यादव र जेठान मिर्चैया ९ सुन्दरपुरका २४ वर्षीय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
विष्णुले २ वर्ष अघि आफू लागु औषध मुद्दामा जेलमा रहेको बेला शिवकुमार सहित उनका घरपरिवारले घरपरिवारसँग गरेको विवाद साँध्न हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार विष्णुले घरपरिवारसँग भएको घरायसी विवादको रिसिवि साँध्न हत्या गरेको स्वीकार गरेको जनाएको छ ।
मृतक शिव कुमार यादवको चैत ७ गते शनिवार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत मिर्चैया नपा १ रामपुरविर्ताखण्डको सडकदेखि दक्षिण निर्माण अधुरो रहेको घरमा मारेर लुकाएका थिए । उनको शव आइतबार विहानमात्र फेला परेको थियो ।
हत्या गरी फालिसकेपछि पनि उनीहरुले आइतबार विहान फिरौतीको लागि मृतकको घरमा फोन गरेका थिए । रकम माग गर्न प्रयोग भएको नम्वर र अन्य मोवाइल नम्वरहरुको सीडीआर विश्लेषण र घटनास्थलमा सक्रिय मोवाइल नम्वरहरुको वीटीएस विश्लेषणको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ८० जनासँग सोधपुछ गरेको बताएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी ज्ञानकुमार सिंहको नेतृत्वमा जिल्ला र इलाका प्रहरी कार्यालयले गरेको अनुसन्धानको आधारमा प्रहरीले ७२ घण्टा पछि हत्यामा संलग्न रहेका अभियोगमा ज्वाई जेठानलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
दिउँसो जयनगर गएर फर्केका शिवकुमारलाई काम विशेषले भेट्नु छ भन्दै विष्णुले पटक पटक फोन गरेका थिए । शिव शनिवार बेलुका घर गएर भाउजुसँग काम गर्नेहरुलाई खाना खुवाउनु पर्छ भन्दै १० हजार लिएर हिँडेका थिए ।
त्यहाँबाट हिँडेर साथीहरुसँग मिर्चैयाकै संस्थाचोकमा खाजा खाँदै गरेका उनलाई विष्णुले जरुरी काम छ भन्दै मिर्चैयादेखि पश्चिम जिवा खोलाको पुलमा बोलाएका थिए । त्यहाँ पुगेपछि शिवको मोटरसाइकल त्यही छोडी आफ्नै मोटरसाकलमा चढाएर करिव ५ सय मिटर पूर्वलगेर सडकमै धारिलो हतियारले टाउको र अनुहारमा प्रहार गरि बेहोस बनाएर नजीकैको आँप वगैचामा रहेको वन्दै गरेको अधुरो घरमा फालेका थिए ।
प्रहरीले राति नै बेवारिसे अवस्थामा रहेको शिवकुमारको प्रदेश २ –०२–००१ नम्वरको मोटरसाइकल विहानसम्म खोज्न नआएपछि घटनास्थल आसपासमा खोजतलास गरेको थियो । त्यही वेला रगत बगेको टाटा पहिल्याउँदै जाँदा शव फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको विष्णुको स. ८ प. ४०६५ नम्वरको मोटरसाइकल, मृतको मोवाईल, फिरौती माग्न प्रयोग भएको मोवाईल र सिमकार्ड समेत बरामद गरेको छ । घटनाको विषयमा अदालतबाट अपहरण तथा कर्तब्य ज्यान कसुरमा म्याद थप गराई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । रातोपाटीबाट