होलीको मेलामा युवाहरुबीच झडप हुँदा दुईको मृत्यु, दर्जन बढी बेपत्ता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा भएको होली मेलामा युवाहरुको समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।

गुल्मी, बागलुङ र प्युठानको सिमानामा पर्ने बल्देधुरी बजारमा होली मनाउन गएका युवाहरुबीच विवाद हुँदा झडप भएको हो । झडपमा परि मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जनाको उपस्थिति रहेको थियो ।

स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको भीमगिठेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार