काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणना गर्न गएका हात्तीको माउतेको बाघको आक्रमणबाट मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजेको समयमा निकुञ्जभित्र गैडा गणना गर्न गएका ३५ वर्षीय पुलीसराम थारुलाई बाघले आक्रमण गर्दा मृत्यु भएको हो । थारु निकुञ्जमा कार्यरत कर्मचारी हुन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ९ गैडामचानस्थित निकुञ्जमा थारुलाई हातीबाट भुईंमा झरेको अवस्थामा बाघले आक्रमण गरेका थिए । बाघले दुई सय मिटर टाढा लगी मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
प्रहरीलाई सवा ६ बजेतिर जानकारी आएको थियो । तत्काल इलाका प्रहरी कार्यालय बग्राहाबाट प्रहरी निरीक्षक विराज रोकायको नेतृत्वमा ८ जनाको प्रहरी टोली खटेको थियो । नागरिक खबरबाट