नारायणी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपरा निवासी ३७ वर्षीय र वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिहान साढे ३ बजे मृत्यु भएका ३७ वर्षीय युवक होलीको दुई दिनअगाडि भारतको हैदराबादबाट घर फर्किएका थिए । ज्वरो र रुघा–खोकीले ग्रस्त भएपछि चैत २६ मा उनी वीरगन्जको एड्भान्स मेडिकेयर हस्पिटल भर्ना भएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० को मध्यराति उनलाई नारायणी अस्पताल लगिएको थियो ।

यसै गरी मंगलबार बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएका ६२ वर्षीय पुरुष गत आइतबार अस्पताल भर्ना भएका थिए । नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा। नीरजकुमार सिंहका अनुसार कोरोना संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको छ । ‘होलीमा घर फर्किएका नेपालीसँगै नयाँ भेरियन्टको कोरोना प्रवेश भइसकेको छ,’ सिंहले कान्तिपुरसँग भने, ‘अधिकांश अस्पताल कोरोनाको लक्षण रहेका बिरामीले भरिएका छन्, जोखिम बढ्दो छ ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार