दाङ । आफूमाथि बलात्कार भएको झुटो उजुरी दिएकी एक युवतीलाई अदालतले एक महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालत दाङले ती युवतीलाई एक महिना कैदका साथै बलात्कारको आरोप लागेका युवाहरुलाई जनही २५–२५ हजारको दरले क्षतिपूति तिर्न फैसला गरेको छ ।
ती युवतीले आफूमाथि सामुहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी थिइन् । घोराहीका तीनजना युवाहरुले आफूहरुमाथि सामूहिक बालात्कार गरेको भन्दै असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा एक बालिका र युवतीले दिएको उजुरी अदालत पुगेपछि उनीहरुले बयान फेरेका थिए । मुद्दा अदालतमा पुगेपछि फागुन ४ गतेको बक पत्रमा उनीहरुले आफूहरुमाथि बलात्कार नभई ती युवकहरुलाई दुःख दिन उजुरी गरेको बयान दिएकी थिइन् ।
दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको चैत २३ गते बसेको इजलाशले झुटा मुद्दा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षती पुर्याएको ठहर गर्दै नाबालिका भएकाले बालिकालाई छोडिएको र जाहेरवाली अर्की युवतीलाई भने कैद र युवतीबाटै बलात्कारको आरोप लागेका तीनजना युवालाई क्षतिपूति उपलब्ध गराउने फैसला गरेको अदालतले जनाएको छ । नागरिक खबरबाट