श्रीमतीको हत्या गरी दुबई गएका व्यक्तिलाई प्रहरीद्वारा दुबईनै पुगेर पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो।

२०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागेका थिए। श्रीमतीको हत्या गर्ने अन्य दुई जना उनकै भाइहरू पुर्पक्षको लागि कारागार चलान भइसकेका छन्। पुरीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।

उनको खोजी गर्ने क्रममा इन्टरपोल आबुधाबी युएईको समन्वय लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पुरी दुबईमा सेक्युरिटी गार्डको रुपमा काम गरिरहेका थिए। उनलाई लिन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी टोली दुबई गएको थियो।

चैत २८ गते गएको टोली मंगलबार बिहान काठमाडौं आइपुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताउनुभयो। नेपाल ल्याइएका पुरीलाई अहिले प्रधान कार्यालयमै राखिएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइने इन्टरपोल शाखाले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार