स्तरोन्नति गर्न बेनी-जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी-जोमसोम-कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६:३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६:३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिनुभयो । ´म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो` उहाँले भन्नुभयो , ´अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्छन् ।`

यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन् ।

बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा-गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी-जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा-गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।

करिब छ अर्ब रुपैयाँ लागतको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना विसं २०७४ बाट निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

आयोजनाले जोमसोम-कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको जनाएको छ । बेनी-जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम-कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार