गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ । पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभा बैठकमा भाग लिन पाउने छैनन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान गर्नबाट भने उनीहरुलाई वञ्चित नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

उनीहरु आफ्नै निजी सवारीमा आएर मतदानमा भाग लिन पाउने छन् । पीसीआर रिपोर्ट पोजेटिभ आएका सांसदले संसदका अन्य प्रक्रियामा भने भाग लिन पाउने छैनन् ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आन्तरिकरुपमा सांसदहरुलाई परीक्षणका क्रममा देखिएको रिपोर्टको बारेमा जानकारी गराइसकेको प्रदेशसभा सदस्य दीपक कोइरालाले बताए । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार