कोरोना संक्रमणबाट एकैघरका तीन जनाको लगातार मृत्यु

दाङ । गढवा गाउँपालिका वडा नं. ४ का ५३ वर्षीय अब्दुल कलामलाई वैशाख ९ गते अलिअलि रिंगाटा लागेजस्तो भयो। उनी स्थानीय पत्थरगढवास्थित एक क्लिनिकमा उपचार गर्न गए। छोराले बुवालाई देखाउन भनेर लमही हुँदै पिसिआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए । अवस्था सामान्य थियो। गढवा-४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमान पनि बिरामी कलामलाई भेट्न प्रतिष्ठानमै पुगे।

आफ्नो अवस्था सामान्य रहेको भन्दै हेरचाहाका लागि पुगेका आफ्ना छोरालाई कलामले घर पठाउँदै थिए। त्यही बेला कलामको पिसिआर रिपोर्ट पोजेटिभ आएको खबर आयो। वडाध्यक्ष मुसलमानले भने, ‘त्यो रिपोर्टको खबरले उहाँको चेहरा एकाएक बिग्रियो। त्यसपछि उहाँको पाँच मिनेटभित्रै मृत्यु भयो।’

प्रदेशसभा सदस्य इन्द्रबहादुर चौधरीका अनुसार मृत्युपछि कलामको शव वडाध्यक्ष मुसलमानले भनसुन गरी र दबाब दिएर शव गाउँमै लगे। आफ्नो धार्मिक परम्परा अनुसार गाउँकै कवरस्थानमा अन्त्येष्टि गरे।

अन्त्येष्टिमा सहभागी हुँदा आवश्यक सावधानी नअपनाएको दाबी प्रदेशसभा सदस्य चौधरीले सामाजिक सञ्जालमा दाबी गरेका छन्। तर, वडाध्यक्ष मुसलमान भने आवश्यक मापदण्ड पालना गरेर मात्रै अन्त्येष्टि गरेको बताए। कलामको अन्तेष्टिमा सहभागीमध्ये कान्छा भाइ ४१ वर्षीय मोहमद उमरलाई अलि-अलि ज्वरो आयो। उनको पनि सुरुमा पत्थरगढवामै सामान्य चेकजाँच गरियो।

उपचारका लागि लमही आइसोलेनमा लगियो। त्यसको अर्को दिन रिपोर्ट पोजेटिभ आयो। अवस्था सामान्य थियो। रिपोर्ट आएकै दिन उमरले राति आइसोलेसनमै हिसाब-किताब गर्न थाले। कागजमा घरायसी लेनदेनबारे हिसाब-किताबको कागजमा लेखिरहेको देखेपछि कुरुवा गएका उनका छोरा २८ वर्षीय मोहमद रजाक एकाएक रुँदै कराए।

वडाध्यक्षले भने, ‘तपाईंले मनोबल गिराउने हामीलाई छोडेर जानलाई हिसाब-किताब बुझाउन खोज्ने, तपाईंलाई केही हुन्न किन कमजोर बन्नुहुन्छ भन्दै उनले बाबुले गरिरहेको हिसाब-किताबको कागज च्याचेर फालेछन् र रजाक अचानक बेहोस जस्तै बने।’

त्यसपछि छोराको हालत देखेर बुवा उमर सिथिल बने। रातारात उमरलाई कोरोना विशेष अस्पताल बेलझुण्डी पुर्‍याइयो। त्यहाँ पुर्‍याएलगत्तै उनको मृत्यु भयो। बुवाको मृत्युको खबरले छोरा रजाक थप सिथिल बने। उनलाई पनि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगियो।

तर, एकाएक उनको अक्सिजनको लेबल घट्दै गयो। रजाकले आफैं वडाध्यक्ष मुसलमानलाई फोन सम्पर्क गरी अस्पतालमा अक्सिजन नरहेको र आफूलाई गाह्रो हुने भएकाले घर परिवारको ख्याल गरिदिन आग्रह गरे।

वडाध्यक्षले ढाडस दिए। तुरुन्तै उनले अस्पतालका व्यवस्थापक द्रोर्ण वलीलाई फोन सम्पर्क गरे। वडाध्यक्ष मुसलमानका अनुसार १२-१३ पटक फोन गरे पनि फोन उठेन। प्रहरीलाई फोन गर्दा पनि उठेन। अनि उनले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई गुहारे। सिडिओको पहलमा राति १ बजेतिर एक सिलिण्डर अक्सिजन बेलझुण्डी पुर्‍याइयो।

वडाध्यक्षका अनुसार उनी बिरामीसँग निरन्तर सम्पर्कमा थिए। अक्सिजन पुगे पनि समयमै अक्सिजन दिइएन। झन्डै एक घन्टा ढिलो गरी उनलाई अक्सिजन दिइयो। जतिबेला उनको अवस्था कमजोर भइसकेको थियो। त्यसको केहीबेरमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले बताए।

वडाध्यक्षका अनुसार कोरोना अस्पताल प्रशासनले रजाकलाई केही नभएको र बुवाको मृत्युको गहिरो असर रहेका कारण मनोबल कमजोर मात्रै भएको हुँदा घर लैजान भनिरहेको थियो। कमजोर मनस्थितिका कारण आफूलाई सम्हाल्न नसक्दा रज्जाकको मृत्यु भएको दाबी वडाध्यक्ष मुसलमानले गरे। एकै घरका तीन जनाको मृत्युको कारण जे भए पनि रिपोर्ट आएको केहीबेरमै लगालग मृत्यु हुनुले डर पैदा गरेको वडाध्यक्ष मुसलमानले बताए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार