जनकपुरधाम । महोत्तरीमा कोरोना संक्रमणबाट एक साताभित्र दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको हो ।
एक साताअघि बिरामी भएका ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएको एक दिनमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।
ती पुरुषको मृत्यु भएको एकसातापछि उनका ५५ वर्षीय दाजु पनि बिरामी भए । उनलाई शनिबार जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरी कोरोना परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आयो । उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको छ ।
दुवै दाजुभाइ एकै परिवारमा बस्दै आएको वडाध्यक्ष पन्नु राय यादवले जानकारी दिए । ‘खेतीबारी गर्दै आएका दुवै दाजुभाइ एकदमै स्वस्थ देखिन्थें,’ वडाध्यक्ष यादवले भने, ‘कोरोना संक्रमण भएको देखिएकै थिएन । तर कोरोना लागेरै मृत्यु भएको जानकारी पाएँ ।’
कोरोना फोकल पर्सन सिंह एकै परिवारमा दुई जनाको कोरोना संक्रमणले मृत्यु भइसक्दा समेत कन्ट्याक्ट ट्रेसिङ गर्न जनप्रतिनिधिले चासो नदिएको बताइन् ।प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने आइतबारदेखि कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण शुरु गरिएको बताए । अनलाइनखबरबाट