
काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ ।
चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।
खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ । तर, चार्टर्ड उडान भने भइरहेका छन् । नेपालमा पर्वतारोहणमा आएका युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर र्फकन अब इस्तानबुल सहज गन्तब्य बन्नेछ । अनलाइनखबरबाट