विराटनगर । प्रदेश १ की प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कारको ठक्करबाट विराटनगरमा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ।
कारले ठक्कर दिँदा भएको दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार साँझ ७ :३५ बजेतिर दुई जना पैदल यात्रीलाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले कारको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए ।
दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना गराउने कार प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएको खुलेको छ। छोरा रविनलाई चलाउनका लागि दिएका बेला कार दुर्घटना गरेको पाइएको प्रहरी स्रोतले बतायो।
दुर्घटनामा परेर मृत्यु र घाइते हुने दुवै पुरुष विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन्।प्रहरीका अनुसार उनीहरु उद्योगबाट काम गरेर फर्कँदै गर्दा दुर्घटनामा परेका हुन्। दुर्घटना लगत्तै कार चालक रविन फरार बनेका छन्। प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ।
डीएसपी राईले सांसद विन्दियाका छोरा रविनले चलाएका बेला कार दुर्घटनामा परेको सूचना आएको भए पनि यकिन हुन बाँकी रहेको जानकारी दिए। ‘दुर्घटनाको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरी सुरुमा घाइतेको उद्धार र उपचारमा केन्द्रित हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि दुर्घटना गराउनेको खोजी थालिए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। पहिचान पनि खुलेको छैन।’
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा अरु दुई युवती पनि सवार थिए। दुर्घटना लगत्तै तीनै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीको भनाइ छ। ‘दुर्घटना भएपछि हामी भेला भएर घाइतेको उद्धारमा व्यस्त भयौँ,’ एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घटनास्थलमै छाडेर फरार भएछन्।’ कारमा रहेका तीनै जनाले मादक पदार्थ सेवन (मापसे) गरेजस्तो देखिने उनको भनाइ छ।
दुर्घटनामा परेर कार क्षतिग्रस्त बनेको छ। कार चालक रविनसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उनी राति विराटनगरकै विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुगेका थिए। मदिराको नसामा लट्ठ रहेको अवस्थामा रविन आएको र त्यसपछि कता गए भन्ने थाहा नभएको अस्पतालका एक कर्मचारीले बताए।
छोरा अस्पताल छिरेको केही समयपछि आमा विन्दिया पनि अस्पताल आएको उनले बताए। विन्दिया लाइसेन्सबिनै सवारी चलाएर दुर्घटना गराएका छोरालाई बचाउन लागेको स्रोतको दाबी छ।
विन्दियाले आफ्ना छोराले कार नचलाएको र दुर्घटना पनि नगराएको बताइन्। उनले उक्त कार कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा प्रयोग गर्नलाई दिएकी थिइन्। राम नेपालको नेतृत्वमा केही युवाहरु मिलेर संक्रमितको शव व्यवस्थापन गर्ने अभियान विराटनगरमा चलाइएको छ।
अभियान पहिलो भेरियन्टदेखि नै सञ्चालन गरिएको हो। सांसद विन्दियाका छोरा रविन पनि अभियानमा सहभागी थिए। युवाहरुले बिहीबार दिउँसो विराटनगरमा संक्रमणका कारण मृत्यु भएका तीन जनाको शवको व्यवस्थापन गरेका छन्।
तर रविन भने शव व्यवस्थापनको काम छाडेर बिचैमा निस्किएको बताइएको छ। विराटनगरको मुनालपथमा पुगेर एउटा होटलमा मदिरा सेवन गरेपछि उनी दुई युवतीलाई कारमा राखेर उत्तरतर्फ लागेको जानकारी प्रहरीले प्राप्त गरेको छ।
‘मैले गाडी संक्रमितको शव व्यवस्थापनमा प्रयोग गर्न दिएकी थिएँ। मेरो छोरासँग लाइसेन्स थिएन। लाइसेन्स भएकालाई कार जिम्मा लगाएको हुँ,’ विन्दियाले भनिन्, ‘एउटा भवितव्य घटना हुन पुग्यो। तर मेरो छोराले गाडी चलाएको थिएन। अरुले नै चलाएको बेला दुर्घटना भएको हो।’ उनले गुडिरहेको गाडीको अगाडिको चक्का एक्कासि विष्फोट भएपछि दुर्घटना हुन पुगेको दाबी गरिन्।
नोबेल शिक्षण अस्पतालबाट उपचारपछि निको भएर डिस्चार्ज भएका संक्रमितलाई मास्क र सेनिटाइजर वितरण गर्न जाँदा दुर्घटना भएको दाबी विन्दियाको छ। तर प्रहरीले भने गाडी कता गएको थियो भन्ने यकिन हुन बाँकी रहेको जनाएको छ। विन्दिया नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छिन्। समाचार आजको अन्नपूर्ण पोस्टमा किशोर बुढाथोकीले लेखेका छन । नागरिक खबरबाट