बुढीगण्डकी नदीको बाढीले ४ घर बगायो, २७ घर जोखिममा

गोरखा । बुढीगण्डकी नदीको बाढीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीका चारवटा घर बगाएको छ । बाढीले गएराती ती घर बगाएको हो । गाउँमा नदी पसेपछि २७ घरधुरी जोखिममा छन् ।

लक्ष्मण गुरुङ, थर्पनी गुरुङ, सुर्यबहादुर गुरुङ, सुन्दर गुरुङको घर बगाएको डिएसपी प्रकाश दाहालले बताउनुभयो । बाढीले बस्ती कटान गर्न थालेपछि वरपरका स्थानीय राती नै बस्ती छाडेर घरभन्दा टाढाको बारिमा बसेका थिए ।

अविरल वर्षाले एघारकिलो–छेवेटार–भालुस्वाँरा– बारपाक सडक पनि अवरुद्ध भएको छ । दरौँदी नदीमा आएको बाढीले राङरुङ र बालुवाको बीचमा झरना नजिकै करिब २० मिटर सडक बाढीले कटान गरेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले बारपाकसँग सदरमुकामको सडक सञ्जाल बिच्छेद भएको छ ।

भिमसेन थापा गाउँपालिका ४ धावामा एउटा घर वर्षातका कारण भत्किएको छ भने सिरानचोक गाउँपालिका–४ शेराफाँटमा बाढीले दुईसय रोपनी खेत बगर बनेको छ । एकसय ५० मिटर लामो नहर पनि बगाएको डिएसपी दाहालले बताउनुभयो । लगातार वर्षात भईरहेकाले सबै क्षतीको बिवरण अझै आईसकेको छैन । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार