काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।
यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताउनुभएको हो । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उहाँले बताउनुभएको छ ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ ।
मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो । यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका-१० मेलम्चीबजार नजिक इन्द्रावती नदी किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो । अनलाइनखबरबाट