काठमाडौं । मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटिएको छ । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको हो ।
प्रमुख जिल्ला अधिकारी अरुण नेपालका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको हो ।
उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको र गोगको मेलम्ची दोभानभन्दा केही तल फेला परेको प्रजिअ नेपालले जानकारी दिनुभयो । उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार हुन् । उनीहरुको साथमा भेटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ ।
आयोजनाका ७८ कामदारलाई उद्धार गरिएको छ भने अझै ६ जना कामदार सम्पर्कविहीन रहेको सीडीओ नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अझै पनि केही कामदार बेपत्ता भएको खबर आएकाले खोजी कार्य तीव्र पारिएको छ ।’
हेलम्बु गाउँपालिका(१ आम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली सम्पर्कविहीन भएका थिए । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी धुलिखेल र काठमाडौं अस्पतालमा राखिएको छ ।
मंगलबार परेको अविरल वर्षाका कारण हेलम्बुको आयोजनाभन्दा माथि पहिरो गएको थियो भने पहिरोले नदी थुनिँदा आयोजनाको संरचनामा क्षति पुगेको छ । आयोजना नजिकैको मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो भने आयोजनामै कार्यरत कामदारहरु बाढीमा फसेका थिए । नागरिक खबरबाट