बिपी प्रतिष्ठानमा भ्रष्टाचारविरूद्ध डाक्टरहरूले थाले रिले अनसन

विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सोमबार बिहानदेखि रिले अनसन थालेका छन्। संयुक्त संघर्ष समितिका संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरू भएको हो। पहिलो दिनको अनशनमा डा. पोरखेलसहित डा. पदम नेपाली, डा. अमृत जैसी, ज्योति बोगटी, सुवास बन्जाडे बसेका छन्।

यसअघि १३ दिनसम्म आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए। प्रदर्शनलाई पदाधिकारीले बेवास्ता गरेको भन्दै आन्दोलनकारीले आइतबार पदाधिकारीहरूले चढ्दै आएको गाडीको चाबी खोसेका थिए। ‘आन्दोलनलाई पदाधिकारीले बेवास्ता गरेपछि हामी अनशनमा जान बाध्य भयौं,’ जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले भन्नुभयो, ‘माग पूरा नभएसम्म अनशन निरन्तर रहनेछ।’

दुई सातादेखि निरन्तर आन्दोलनरत् चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरूले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग अघि सारेका छन्। लामो समयदेखि चलेको आन्दोलनलाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले बेवास्ता गरेको आरोप आन्दोलनकारीको छ। तर, प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले भन्नुभयो उपकुलपति प्रतिष्ठानको कामले काठमाडौंमा रहेको र उनी फर्कने दिन कुरेर बसेको जानकारी दिनुभएको छ। उपकुलपतिको शैक्षिक योग्यता सार्वजनिक गर्न आन्दोलनकारीले माग गरेपछि वार्ता अघि बढ्न नसकेको रेग्मीको भनाइ छ।

आन्दोलनकारीले नामका अघि प्राध्यापक लेख्ने उपकुलपति गिरीको प्राध्यापक पदवीको प्रमाण देखाउन चुनौती दिँदै आएका छन्। यसबाहेक शैक्षिक र प्रशासनिक सुधार उनीहरूको मुख्य माग छ। प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरू भएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार