काठमाडौं । धादिङको त्रिशूली नदीमा ट्रक खसेको छ। मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक खसेको आशंका गरिएको उहाँले बताउनुभयो। अनुसन्धानको क्रममा ना ३ ख ८०७४ नम्बरको ट्रक आशंका प्रहरीले गरेको छ । यद्यपी अहिलेसम्म ट्रक र चालक दुबै फेला परेको छैन।
‘ट्रक खसेको चिन्हहरू देखिएका छन् र सामानहरू खसेको देखिन्छ। त्यही नम्बरको ट्रक हो भन्ने दाबी नै गर्न सकिने अवस्था छैन तर हाम्रो अहिलेसम्मको अनुसन्धानले यो नम्बर खुलेको हो,’ प्रहरी नायब उपरीक्षक खड्काले भन्नुभयो ,’नदीको बहाब पनि धेरै भएकोले फेला परेको छैन।’
बिहानैदेखि गोताखोर, प्रहरीलगायतको टोलीले नदीमा ट्रक तथा चालकको खोजी गरिरहेको छ। तर अहिलेसम्म फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो। चालकको पहिचान पनि खुल्न सकेको छैन। सेतोपाटीबाट