काठमाडौं । नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
भन्सार छली चोरी पैठारी गरी काठमााडौंमा गाडी ल्याइ नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो ।
उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमलबाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् ।
पक्राउ परेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होलो ग्राम, लाइसेन्स, राहदानी लगायतका सामाग्री बरामद गरिएको खापुङले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताउनुभयो ।
यस्तै प्रहरीले इटाली पठाइदिन्छु भनी तीनजनासँग रु ३१ लाख ५० हजार रकम लिएर अजरवैजानसम्म पुर्याइ बिचल्ली बनाएका एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भइ बुढानिकण्ठ बस्ने उमेश रेग्मी रहेका प्रहरीले जनाएको छ । नागरिक खबरबाट