काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउनका लागि बैठक बोलाइएको बताइएको छ ।बैठकमा शीर्षस्थ नेताले क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसँग छलफल गर्न लागेको समितिका सदस्य कल्याण गुरुङले जानकारी दिनुभयो।
महाधिवेशनको कार्यतालिका अनुसार असार मसान्तसम्म क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्छ । तरपनि मापदण्ड नहुँदा छानविन समितिले कुनै निर्णय लिन सकेको छैन ।
क्रियाशील सदस्यताको कामले गति नलिंदा बारम्बार सर्दै आएको कांग्रेस महाधिवेशन पछिल्लो समय भदौ १६ गतेका लागि तय भएको छ । महाधिवेशन गर्नैपर्ने बाध्यकारी अवस्था रहेकाले नेताहरु पनि क्रियाशील सदस्यताको विवाद टुंग्याउन सक्रिय बनेका छन । नागरिक खबरबाट


























