एजेन्सी । ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ । लिबियाको जुवारा बन्दरगाहबाट युरोपीयन मुलुक इटालीका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिशियाको जार्जीस नजिकैको समुन्द्री क्षेत्रमा दुर्घटनामा परेको हो ।
१ सय २७ जना आप्रवासी सवार रहेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ । मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिकाहरु रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको त्यहाँको सरकारी निकायलाई उद्धृत गर्दै एबिसी डट नेटले जनाएको छ । nagarikkhabar