फिलिपिन्समा सैनिक बोकेको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ ।

घटनाको समय विमानलाई सुलु राज्यको जोलो आइल्यान्डमा ल्यान्ड गराउने प्रयत्न गरिएको थियो । सोबेजानाका अनुसार समयमै उद्धारका लागि सैनिक टोली पुग्यो । विमानमा रहेका अधिकांश सैनिकहरुले भर्खरै मात्रै आधारभूत सैन्य तालिम लिएका थिए । उनीहरुलाई त्यस्ता विभिन्न टापुहरूका लागि पठाइएको थियो, जहाँ आतंककारी गतिविधिहरु धेरै हुन्छ ।

दक्षिण फिलिपिन्समा रहेका टापुहरूमा अपहरण, धम्की सामान्य मानिन्छ । त्यहीकारण यहाँ सुरक्षाका लागि ठूलो संख्यामा सैनिक पनि परिचालन गर्ने गरिएको हो । यहाँको अबु सैइयफ नामक संगठनलाई सरकारले आतंककारी घोषणा गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार