फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ५० को मृत्यु

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् ।

९६ जना यात्रु बोकेको लकहिड सी–१३० विमानमा अधिकांश सेनाहरु सवार थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेका छन । विमानमा सवार यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्थानीय सर्वसाधारणको पनि मृत्यु भएको फिलिपिन्सको रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि पाँच जनाको अज्ञात रहँदा खोजी भइरहेको थियो । तर अहिले भने सबैको पत्ता लागिसकेको छ । फिलिपिन्सको सुरक्षाबलका प्रवक्ताले बताए अनुसार विमाननको डाटा रेकर्डर परीक्षण गरी दुर्घटनाको कारणबारे अनुसन्धान गर्ने काम भइरहेको छ ।

फिलिपिनी सेनाका मेजर जनरल एड्गार्ड एरेभालोका अनुसार विमानमा बाहिरी आक्रमणको कुनै संकेत देखिएको छैन । यसमा बाँचेकाहरु विमान भुईमा ठोक्किनु अगाडि नै विमानबाट हाम फालेर आफूलाई बचाएको क्षेत्रीय सैन्य बलको बयानमा उल्लेख गरिएको छ ।

उनीहरुको अवस्थाबारे भने विस्तृतमा जानकारी दिइएको छैन । एएफपीको रिपोर्ट अनुसार विमानमा सवार प्रायः ले केही समय अगाडि मात्र सामान्य सैन्य प्रशिक्षण पूरा गरेका थिए ।

सो विमान यसअघि अमेरिकी एयर फोर्सको सेवामा रहेको थियो र जनवरीमा मात्र फिलिपिन्सलाई हस्तान्तरण गरिएको हो । एभिएसन सेफ्टी नेटवर्कका अनुसार यो विमानले सबैभन्दा पहिलो उडान सन १९८८ मा पूरा गरेको सिएनएनले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार