काठमाडौं । आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।
उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले पनि खोप लगाउन पाउने छन् ।
पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको थियो । यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको डा शर्माले बताउनुभयो ।
दोस्रो डोजका लागि काठमाडौं उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएका छन । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौं महानगरभित्र १३ वटा र काठमाडौं अरु पालिकामा दुई, दुई ठाउँमा खोप केन्द्र तोकिएका छन ।
भक्तपुरको ३८ वटा ठाउँमा खोप केन्द्र तोकिएका छन् । ललितपुरमा पालिकालाई नै खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य गरिएको छ । नागरिक खबरबाट