देउखुरी । दाङ प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागु औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागु औषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो ।
घोराही उपमहानगरपालिका–१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नम्बर २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नम्बरको मोटरसाइकल प्रयोग गरी ब्राउन सुगर कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरुका साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ ।
यसैबीच राप्ती गाउँपालिका–१ भालुवाङ रातोडाँडा निवासी २७ वर्षीय एकेन्द्र पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनको घरका कोठामा लागु औषध लुकाइछिपाइराखिएका अवस्थामा २.३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले सोमबार बरामद गरेको हो । तीनै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नागरिक खबरबाट