दाङ । दाङमा जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार भएको छ। मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दोघरेस्थित केएम जिम क्लबमा खुकुरी प्रहार हुँदा तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पुरानो रिसिबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो। आज बिहान साढे ६ बजे बबई गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय निर्मल बस्नेतले पुरानो रिसिबीका कारण सुनारमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।
घाइते सुनारको तीघ्रामा चोट लागेको छ। उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर अनुसन्धानलाई अगाडी बढाइएको छ।
खुकुरी प्रहार गर्ने बस्नेत फरार छन्। यस्तै सोमबार बिहान घोराहीमा छुरा प्रहारबाट घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ६१ वर्षीय दामोदर पौडेल घाइते भएका थिए।
पौडेलमाथि मनिङवाकमा रहेका बेला अपरिचित ब्यक्तिले छुरा प्रहार गरेका थिए। उनलाई एक युवकले मोबाइल र पैसा मागेको र नदिएपछि आक्रमण गरेको प्रहरीको भनाइ छ।
घाइते पौडेलको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शल्यक्रिया भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्ने व्यक्तिको खोजी प्रहरीले जनाएको छ। उनीमाथि घोराही १४ झिगौंरामा आक्रमण भएको थियो। सेतोपाटीबाट