पहिलो चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । उहाँले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गर्नुभएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ । देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्र मंगलबार मन्त्री बनाउने मनशाय देउवाले व्यक्त गर्नुभएको छ । उहाँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग पनि यसबारे छलफल गर्नुभएको छ ।

‘परिस्थितिमा कुनै फेरबदल भएन भने आज तीनजना मन्त्रीले मात्रै शपथ लिन्छन्, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की हुने सम्भावना छ,’देउवानिकट नेताले बताए । ३० दिनभित्र संसद्‍मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवाले गरेको पनि ती नेताले बताउनुभयो ।

मन्त्रिपरिषद्कै गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको छ । पेरिसडाँडामा पार्टी बैठक सकेर दाहाल देउवालाई भेट्न पुग्नुभएको हो। मन्त्रिपरिषद्को संख्या र सदस्यबारे उहाँहरूले टुंगो लगाउने एक माओवादी नेताले बताउनुभयो ।

राष्ट्रपति कार्यालयले हिजै देउवालाई मंगलबार शपथ हुने जानकारी गराइसकेको छ । मंगलबार दिउँसो २ बजे कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । अदालतले मंगलबार ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी गरेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार