काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार वार्षिक विन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ । घटा २०७८ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो ।
यसैगरी जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।यसबीच समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २६.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । रातोपाटीबाट