बेनी ।हिमाली जिल्ला म्याग्दीमा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट बिहीबार चारजना संक्रमित थपिएका छन् । आज थपिएका ४ जनासँगै जिल्लामा हालसम्म कुल संक्रमित हुनेको सङ्ख्या २ हजार ६ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित सबै बेनी नगरपालिका भित्रका रहेका छन् । पछिल्लो तथ्याङ्कसहित अहिलेसम्म म्याग्दीमा कुल २ हजार ६ सय ४४ जना संक्रमित पुगेकोमा पिसिआर विधिबाट १ हजार ७ सय ३१ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
अहिले जिल्लामा कोरोनाका जम्मा ९४ जना सक्रिय संक्रमितहरु रहेकोमा आज ५ जना संक्रमित निको भएर आइसोलेशनमुक्त भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना संक्रमित बढिरहेको हुँदा स्थानीय प्रशासनले आजको वैठकबाट दशौंपटक निषेधाज्ञा थप गरी अर्को आदेश नभएसम्मका लागि जारी गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाइएको अवस्थामा औषधी पसलहरु २४सै घण्टा खुलेका छन्भने अन्य खाद्यान्न, फेन्सीलगायत पसलहरु पनि खोल्ने अनुमति प्रदान गरिएको छ ।