काठमाडौँ । सर्वोच्च अदालतले नेकपा विप्लव समुहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्दै उच्च अदालत पाटनको आदेश बिहीबार बदर गरेको छ।
न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका ओलीलाई स्वास्थ्यको कारण जीवन रक्षार्थ साधारण तारेखमा राखी पुर्पक्ष गर्न आदेश गरेको हो। ओलीको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट मुटुसम्बन्धी समस्या भएको प्रमाणित कागज पेश गरिएको थियो।
कोभिड १९ कोे महामारीबीचमा अस्पतालमा उपचाररत भएकाले जीवन रक्षार्थ मानवीय दृष्टिकोणले संवेदनशील भएकाले थुनामुक्त गर्न आदेश गरेको छ। ओलीलाई २०७६ जेठ २ मा ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता भएको थियो। पाटनलेसमेत पुर्पक्षका लागि थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको थियो । त्यस विरुद्ध सर्वोच्चमा निवेदन दर्ता भएको थियो। सर्वोच्चले थुनामुक्त गर्न आदेश गरेको हो। nagariknews.nagariknetworkबाट


























