काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दै छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने छ ।
आज विहानको समयमा प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्ने भएकाले बैठकको स्थानबारे भने टुंगो लागि नसकेको पौडेलले जानकारी दिनुभयो । अबको एक घण्टापछि बैठक बस्ने ठाउँको टुंगो लाग्ने उहाँको भनाइ छ ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि कांग्रेसबाट आफू निकट बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाएका छन् । पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने कांग्रेस नेताहरुको तयारी छ ।
त्यस्तै पार्टीको आसन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरण विवादबारे पनि छलफल हुने छ । क्रियाशील सदस्यता छानबिन समितिले असार समान्तसम्म काम सक्ने भने पनि अझै काम सकिएको छैन ।
यो अवस्थाका कारण साउन १२ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशनलाई प्रत्यक्ष प्रभाव पार्ने सम्भावना बढेको छ । त्यसैले भदौँ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको मितिबाहेकका कार्यतालिका पुनः संशोधन गर्ने कांग्रेसले तयारी गरेको छ । नागरिक खबरबाट


























