काठमाडौँ । भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५० आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गर्नुभएको हो ।
आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीसँग जुध्न भारत लगायत अन्य छिमेकी राष्ट्रलाई सहयोग गर्न आग्रह गर्नुभयो । भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्रै नभएर जनता–जनता बीचमा समेत निकट सम्वन्ध रहेको उहाँले बताउनुभयो । कोरोनाभाइरस (कोभिड १९) सँग जुध्नका लागि भारतसँग अझै सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
यस्तै आइसीयू हस्तान्तरण गर्दै भारतीय राजदूत क्वात्राले (कोभिड—१९) विरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा १० लाख कोभिशिल्ड खोप भारतले नेपाललाई कहिले उपलब्ध गराउँछ भन्ने पत्रकारको प्रश्नमा भने क्वात्राले स्पष्ट जवाफ दिनुभएन। रातोपाटीबाट