काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललगायतको आग्रपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् ।
साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिनु अगाडि रावलले संसद् भवनमै राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा रोक्न एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै सक्रिय थिए ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए । स्रोतका बिहीबार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए ।
नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधबार उनको निवासमै गएर आग्रह गरेका थिए । १० बुँदे सहमति गराउन माधव कुमार नेपाल पक्षको वार्ता टोलीका संयोजकको भूमिका निर्वाह गरेका रावलले शेर बहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद् पदबाट राजीनामा दिएका थिए । नागरिक खबरबाट


























