काठमाडौं । जेलमा रहेका जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड-काउन्टमा सहभागी हुने भएका छन् । यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो ।
जेलर बसन्त पुरीले आयोगलाई निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आयोगमा पठाउन अब कारागार व्यवस्थापन विभागको अनुमति चाहिने भएकाले त्यसको लागि समन्वय गरिरहेका छौं ।’
निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् । हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् भन्ने एकीन भएको छैन । अनलाइनखबरबाट


























