झापा । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा सोमबार दिउँसो एक किशोरको हत्या भएको छ।छुरा प्रहार गरेर उर्लाबारी-८ का १७ वर्षे अभिषेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो।
उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ।
‘स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छरसात जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा हानेका हुन्,’ उहाँले भन्नुभयो ।छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुसन धामी पनि घाइते भएका छन्।
छुरा प्रहारबाट सुसनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठले बताउनुभयो। सामान्य अवस्थामा रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ।प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ।
घटनामा संलग्न अरु युवाहरू फरार रहेका कारण खोजी भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिनुभयो। युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवम् झगडा भएको प्रहरीले बताएको छ। विवाद त्यतिबेलै मिलाइएको भए पनि ‘रिसिइबी’ साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको प्रहरीले बताएको छ। अनलाइनखबरबाट