दाङ । नेकपा (एमाले) को नेतृत्वमा आइतबार दाङको तुलसीपुरमा प्रदर्शन भएको छ। सुकुम्बासीको नाममा भएको प्रदर्शनको नेतृत्व तुलसीपुरका जनप्रतिनिधिले गरेका थिए।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.१२ का वडाध्यक्ष सूर्यबहादुर डाँगी, वडा नं. १८ का अध्यक्ष माधव ओलीलगायतको नेतृत्वमा तुलसीपुरस्थित एमाले पार्टी कार्यालयबाट प्रदर्शन सुरू भएको हो।
प्रदर्शनका सहभागीले नेकपा (एमाले) जिन्दावाद, केपी ओली जिन्दावाद, परमादेश सरकार मुर्दावाद, राष्ट्रघाति सरकार मुर्दावाद, गरिबमारा सरकार मुर्दावाद, भूमिहीनलाई पूर्जा दे… लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए।
चर्को गर्मीबीच उनीहरू छाता ओढेर प्रदर्शनमा सहभागी बनेका देखिन्थे। प्रदर्शनकारीमध्ये अधिकांश महिला थिए। त्यस्तै क्रमिक कोरोना संक्रमितको संख्या बढ्दै गएको समयमा पर्दशनकारीले भने त्यसको वेवास्ता गर्दै आपसमा भौतिक दुरी समेत कायम राखेका थिएनन्। सेतोपाटीबाट