म्याग्दी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाको अधिवेशन आज हुँदैछ । एक नगरपालिका र पाँच नगरपालिका रहेको म्याग्दीमा पनि अधिवेशन हुँदैछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व टुंग्याउन नेता तथा कार्यकर्ता विच भेटघाट र छलफल भइरहेको छ । केही पालिकामा शुक्रबार राति सहमतिमै नेतृत्व टुंग्याइएको छ भने केही पालिकामा सहमतिको कसरत भइरहेको छ । जिल्लाको धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन ,मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन र मंगला गाउँपालिकामा नरसिङ केसीलाई सभापति बनाउने सहमति भएको एक नेताले बताउनुभयो । धवलागिरीमा आकाँक्षी धेरै देखिएपनि शुक्रबार राति अबेर सम्मको छलफल पछि सर्वसम्मत पुनलाई सभापति बनाउने सहमति भएको सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । तीनै जना बर्तमान सभापति हुनुहुन्छ ।
ती नेताका अनुसार बेनी नगर पालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा पनि सहमतिको लागि प्रयास भइरहेको छ । अन्नपुर्ण गाउँपालिकामा क्याप्टेन बलबहादुर तिलिजा , वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल सभापतिका आकाँक्षी देखिनुभएको छ । रघुगंगा गाउँपालिकामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,वडा नम्ब ३ का जिवनकुमार मल्ल र वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जा सभापतिका आकाँक्षी देखिनुभएको छ । वर्तमान सभापति समेत रहनुभएका उम्मेद्धारका दावेदार मल्लले सहमतिमै नेतृत्व चयन गर्न छलफल भइरहेको बताउनुभयो ।उहाँका अनुसार सहमति नभए भोली अर्थात आइतबार निर्वाचन हुनेछ । त्यस्तै बेनी नगरपालिकामा रबिन्द्र कार्की र बिक्रम बोगटीले छुट्टाछुट्टै प्यानल खडा गरेर उम्मेद्धारी घोषणा गर्नुभएको छ । नगरपालिकामा सहमतिको लागि छलफल भइरहेको छ ।
संगठन, पार्टी र जनताको सेवाका लागि खट्ने, समय दिन सक्ने र संगठन विस्तार गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने रघुगंगा गाउँपालिका वडा नम्बर १ का वडा सभाति सुर्य गर्बुजा मगरले बताउनुभयो । मालिका गाउँपालिका वडा नम्बर ४ का सभापति तमबहादुर पुनले सहमतिमै नेतृत्व चयन गर्नुपुर्नेमा जोड दिनुहुन्छ । पार्टी संगठनलाई एकताबद्ध र थप सशक्त बनाउने नेतृत्व आउनुपर्ने उहाँको भनाई छ । जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सहमतिमै नेतृत्व चयन गर्न सबै पालिकालाई जिम्मेवारी दिइएको बताउनुभयो । उहाँले सहज वातावरणमा अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । पालिका अधिवेशनका लागि सबै पालिकामा विहिबार मतदान अधिकृत खटिएका छन् ।